माओवादीले पश्चिमसेती परियोजना लागु हुन नदिने

दिलबहादुर छत्याल, धनगढी, भदौ १६- एकिकृत नेकपा माओवादी सेती महाकाली राज्य संगठन समितीले पश्चिम सेती परियोजना देशको हित विपरित भएकोले अहिलेकै सम्झौता बमोजिम संचालन गर्न नदिने निर्णय गरेको छ। पाँच दिनसम्म चलेको राज्यसमिती बैठकले केन्द्रीय नेतृत्वलाई सेती-महाकालीलाई टाढाको ब्यवहार नगर्न सुझाव दिने निर्णय पनि गरेको छ।

लगानी मुनाफा उपभोग र स्वामित्व पनि बिदेशीको हुने गरि पश्चिमसेती परियोजना संचलान गरेर नेपालीहरुलाई ठग्न खोजिएकोले बिरोध गने निर्णय गरेको माओवादीका सेती महाकाली राज्य समितीका सचिव खगराज भट्टले बताए।

'लगानीको सुरक्षा मुनफाको ग्यारेन्टी सरकारले गर्नुपर्छ । परियोजना संचालन पछि उपभोग र स्वामित्व नेपालको हुनुपर्छ । तव मात्र पश्चिमसेती परियोजना देश र जनतको हितमा हुन्छ'- उनले भने- 'उत्पादित भएको बिजुली पहिले नेपालमा बितरण गरेर बाँकी रहेको मात्र बेच्नुपर्छ। पानी र बिजुलीमा नेपालीको नियन्त्रण हुनुपर्छ।'

पश्चिमसेती संचालनका लागी सरकारसँग भएको सम्झौता पुरै बिदेशीको स्वार्थमा र नेपाली हित विपरित भएको माओवादी निष्कर्ष छ। एडीबी टिम आएकोवेला बिभिन्न ठाउँमा भएको बिरोध, सुचनाकेन्द्रमा भएको आगजनी, पश्चिम सेती परियोजना अहिलेकै अवस्थामा लागु हुन नदिनका लागी गरिएको उनको भनाई थियो।

देश र जनताको हितमा भएमात्र परियोजना संचालन गर्नदिने उनले बताए। भारतको नेपालका जलश्रोत रहेको नदीनलामा ३ वटा स्पष्ट स्वार्थ राखेर सम्झौता गर्ने गरेको सचिव भट्टले आरोप लगाए।
'एउटा नेपालको जलश्रोतको अपभोग गरि उर्जा संकट टार्ने अर्को बर्खामा बढी भएको पानी हाईड्याममा रोकेर बाढीवाट आफ्नो भुभागको सुरक्षा गर्ने र तेश्रो बढी फ्लो हुने पानीबाट सुख्खायाममा सिचाई गर्ने भारतका तिनवटा स्वार्थ रहेका छन', उनले भने- 'यो परियोजना पनि भारतको स्वार्थ बमोजिम बन्न लागेको छ।'

भदौ १० देखि १४ गतेसम्म चलेको माओवादीको सेती महाकाली राज्यसमितीको बैठकमा माओवादीको हेडक्वाटरले सेती महाकालीलाई समान ब्यवहार नगरेको भनेर पनि छलफल चलेको थियो।

माओवादीले बाबुराम भट्टराईको संयोजकत्वमा हालै गठन गरेको संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितीमा सेती महाकालीवाट समान प्रतिनिधत्व नभएकोमा कुरा छलफलमा उठेको थियो।

बैठकमा नेतृत्व सुबिधाभोगी बन्दै गएको वारेमा पनि ब्यापक छलफल भएको बताइएको छ। पार्टीभित्र बैचारिक राजनीतिक सांगठनिक संघर्ष र आर्थीक विश्लेषणलाई ब्यवस्थित रुपमा हल गर्न तीन महिने 'एकिकृत अग्रगामी रुपान्तरण तथा बृहत जनपरिचालन अभियान' संचालन गर्ने निर्णय गरेको पनि उनले जनाए।
साभारः नागरिक दैनिक, २०६६, भदौ १७

पश्चिम सेतीविरुद्ध संघषॅः माओवादी

कर्ण शाह, (धनगढी) पञ्चेश्वर र पश्चिम सेती परियोजना अहिलेकै अवस्थामा राष्ट्रहितविपरीत भएको जनाउँदै एकीकृत नेकपा माओवादीको सेती-महाकाली राज्य समितिले त्यसविरुद्ध संघषॅ गर्ने निर्णयगरेको छ।

राज्य समितिको चार दिनसम्म धनगढीमा बसेको बैठकले ती दुई परियोजनालाई जनपक्षीय बनाउन दबाब दिने बताउँदै संघषॅको निर्णयगरेको हो। बैठकले संघषॅसँगै सरकार सकारात्मक भए वार्ताको जिम्मेवारी राज्य समितिका इन्चार्ज र सचिवलाई दिएको छ।

‘पश्चिम सेती परियोजना अहिलेकै अवस्थामा नेपालका पक्षमा छैन।’ बैठकपछि धनगढीमा आयोजित पत्रकार सम्मेलनमा राज्य समितिका सचिव खगराज भट्टले भने- ‘नेपालमा उत्पादित बिजुली ३० वर्षम्म नेपालीले उपभोग गर्न नपाउने अवस्था नेपालीको हितमा हुँदैन, यसलाई जनपक्षीय बनाउन आवश्यक छ।’

नेपालमा उत्पादन भएको बिजुली नेपालीले उत्पादन गर्न नपाउने र सीधै भारतमा जाने भएकोले नेपालको पक्षमा पश्चिम सेती नभएको भट्टले बताए। नेपाली भूमि डुबान गरेर उत्पादन गरिने तर नेपालीले नै उपभोग गर्न नपाउनु गलत भएको भट्टले बताए।

नेपालीले नै विद्युत नपाइरहेको अवस्थामा भारतमा बिक्री गर्ने कुरा गलत भएको उल्लेख गर्दै भट्टले विद्युतमा नेपालको अग्राधिकार कायम गरिनुपर्ने बताए।

‘पहिले नेपालीले पाएर मात्रै बढी भएको बिजुली भारत लैजाने व्यवस्था गरिनुपर्छ। विद्युतमा स्थानीय बासिन्दाको अग्राधिकार कायम गरिनुपर्छ।’ भट्टले भने- ‘लगानीकर्ताको मुनाफाको ग्यारेन्टी गरिनुपर्छ, तर त्यो बिजुली भारतमा निर्यात गरेर हैन, स्थानीय उपभोगबाट गरिनुपर्छ।’

राज्य समितिले पश्चिम सेती जनताका पक्षमा नभएसम्म सञ्चालन हुन नदिनेसमेत निर्णयगरेको छ। भट्ट स्थानीय उपभोक्ताहरूद्वारा गठित पश्चिम सेती संघषॅ समितिका संयोजकसमेत हुन्।

धनगढीमा चार दिनसम्म भएको राज्य संगठन समितिको बैठकले तीनमहिने जनपरिचालन आन्दोलनको घोषणासमेत गरेको छ। बैठकले तीनमहिने अभियानअन्तर्गत जनतालाई संगठित गर्ने र उनीहरूको आयस्तर उकास्ने आधुनिक कृषि प्रणाली, पशुपालनलगायतका क्रियाकलाप सञ्चालन गरिने बताए।

सोही अवसरमा एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य एवम् सेती-महाकाली राज्य संगठन समिति इन्चार्ज धमेन्द्र बास्तोलाले परिवर्तर्न चाहने जुनसुकै शक्तिको नेतृत्वमा बन्ने सयुक्त राष्ट्रिय सरकारमा माओवादी जान तयार रहेको बताएका छन्।

उनले विदेशी हस्तक्षेपबिनाको सयुक्त राष्ट्रिय सरकार अहिलेको आवश्यकता भएको उल्लेख गर्दै देशभक्त, गणतन्त्रवादी र परिवर्तनकारी पार्टी वा शक्तिले नेतृत्व गर्ने सरकारमा माओवादी जान तयार रहेको बताए।

एकीकृत नेकपा माओवादी सेती-महाकाली राज्य संगठन समितिले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा इन्चार्ज बास्तोलाले अहिलेको सरकारले यथास्थितिवादी र पुरानै राज्यसत्ता कायम गर्न खोजेको आरोप लगाए। उनले सरकारमा रहेका राजनीतिक दलहरूले हतियार, खरिद सेना समायोजनजस्ता मुद्दामा किचलो गरेर देशलाई पुनः द्वन्द्वमा धकेल्न खोजिरहेको दाबी गरे।

स्रोतः नेपाल समाचारपत्र दैनिक, २०६६ भदौ १७