ठूला खोला नदी जति व्यक्तिका कब्जामा

काठमाडौं, जेठ १६ (नागरिक)- म्याग्दी जिल्लाका प्रायः ठूला खोला नदी व्यक्ति तथा संस्थाको कब्जामा रहेको कुरा खुल्न आएको छ। दर्जन भन्दा बढी नदी व्यक्ति तथा संस्थाको कब्जामा रहेको छ।

जिल्ला उत्तरी भेगमा पर्ने हिस्तान गाविसको औला स्थित संसारेखोलाबाट विद्युत निकाल्नको लागि भनी स्थानिय वासिन्दा अनुमती लिन खोज्दा उक्त नदी व्यक्तिको नाममा रहेको खुल्न आएको थियो। उक्त नदी विद्यालक्ष्मी लामिछाने नाम गरेकी व्यक्तिले आजभन्दा ५ वर्ष पहिले आफ्नो नाममा दर्ता गरिसकेको कुरा विद्युत विकास विभागले जनाएको थियो । जिल्लाको पश्चिम निस्कोट गाविसको रितुङ्गखोला समेत पहिल्यै विनोदमणी लामिछाने नामका व्यक्तिले आफ्नो कब्जामा लिइसेकेका छन् ।
उत्तरी भेगमा पर्ने नारच्याङ्ग गाविसको छहरे खोला नेपाल आर्थिक साँस्कृतिक तथा व्यापारिक केन्द्र प्रा।लि। को नाममा गैसकेको छ । सोही गाविसको र्‍यालेखोला विष्णुकुमारी भुसालको नाममा दर्ता भएको छ । सोही समुहले कालीगण्डकी नदिलाई मुस्ताङको घासादेखि म्याग्दीको दानासम्म आफ्नो नाममा दर्ता गरेको छ ।
नारच्याङ्गको छहराखोला र र् यालेखोला स्थानियवासीको आमभेलाबाट सहमती जुटाई जिल्ला विकास समितिबाट समेत अनुमती प्राप्त गरेको छ । अन्य खोलाहरु भने कुनै व्यक्ति वा समुहले स्थानियवासी र निकायलाई हालसम्म पनि कुनै जानकारी दिएका छैनन् । स्थानियवासीको ४० प्रतिशत शेयर रहने उत्पादन पछि हुने आम्दानी १० प्रतिशत अग्रीम रुपमा स्थानिय शैक्षिक संस्थालाई नगद दिने लगायतका स्थानिय हितलाई सर्तमा उल्लेख गरी अनुमती लिएका छन् । तर अहिले सम्म कुनै पनि ब्याक्ती तथा संघ संस्थाहरुले बिद्युत उत्पादनको लागी काम थालेका छैनन् ।
उत्तरी भेगको तल्लो संसारे माथिल्लो संसारे घारखोला माथिल्लो घारखोला लगायतका नदीहरु दर्ता प्रकरण पछि जिल्लाका अधिकांश प्रमुख खोलाहरु स्थानियवासी गाविस तथा जिविस लगायतका स्थानिय निकायलाई पत्तै नदिई जलमाफियाको कब्जामा परेको कुरा खुल्न आएपछि म्याग्देलीहरु छक्क परेका छन् ।
निकायलाई पनि जानकारी नै नदिई कब्जामा लिएकोमा हिस्तान गाविसले जिविस मार्फत विद्युत विकास विभागमा लामिछानेको निवेदन दर्ता खारेज गरिदिन निवेदन गरिसकेको छ । हामीले विद्युत निकाल्ने प्रयास गर्दा अर्कैको नाममा रहेको थाहा पाएपछि नदिपनि अर्काको नाममा हँदोरहेछ त्यसको लागि स्थानिय वासीन्दाहरु सचेत हुनुपर्ने कुरा बल्ल आँखा खुल्यो । भन्छन् आदर्श मावि रिमका पधानाध्यापक कुमार पुन । उनी थप्छन् आफ्नो आँखा अगाडि रहेको प्राकृतिक स्रोत पनि माफियाहरुले आफ्नो कब्जामा लगेपछि आकाशे फल आँखातरी मरको स्थिति आएको छ ।
६ महिना पहिला एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओबादीका जिल्ला ईन्चार्ज मित्रशरण शर्माले एक पत्रकार सम्मेलनमा नदी कब्जा गर्ने कसैलाई पनि माओबादीले नछोड्ने र सबैको अनुमती खारेज गरिदिने चेतवानी दिएका थिए । माओबादीले चेतावनी दिएको भए पनि अहिले सम्म कुनै पनि काम अगाडि बढेको छैन ।
Source: नागरिक दैनिक, 30 में 2009