पञ्चेश्वरको कोसेली र भारतभक्ति

सूर्यबहादुर सेन
माधवकुमार नेपाल प्रधानमन्त्रीका हैसियतमा आजदेखि भारत-भ्रमणमा छन् । नेपाल र नेपालीप्रति उनले देखाएको बेवास्ता र भारतप्रति देखाएको भक्तिले गर्दा यो भ्रमण राष्ट्रिय हितमा नहुने देखिन्छ । नेपाल-भारतबीच सन् १९५० मा भएको सन्धिदेखि अन्य सन्धि-सम्झौता असमान र अन्यायपूर्ण छन् । त्यसमाथि भारतबाट कालापानीदेखि सुस्ता हुँदै फालेलुङ झिन्साङचुलीसम्म ५७ ठाउँमा नेपाली भूमिमाथि अतिक्रमण भएकै छ । दसगजामा पनि बस्ती तथा सडकनिर्माणजस्ता क्रियाकलाप भएकै छन् । टनकपुर ब्यारेजदेखि लक्ष्मणपुर, महलीसागर, रसियावाल खुर्दलोटनसम्म २१ ठाउँमा सीमानजिक बाँध बाँधी बाढीको प्राकृतिक बहाब रोक्ने र लाखौँ नेपालीसँगै हजारौँ-हजार बिघा जमिन डुबाइएको छ ।

यतिखेर नेपाललाई १९५० को सन्धि यथावत् राख्न, नेपाली भूमिको अतिक्रमण स्वीकार गर्न, नेपाली जलस्रोत, सुरक्षा व्यवस्था र अन्तर्राष्ट्रिय नीति अधीनमा लिन, सपुर्दगी सन्धि गर्न, काठमाडौं विमानस्थलमा भारतीय सुरक्षा व्यवस्था स्थापना गर्न भारतबाट दबाब परिरहेको छ । यस्ता आकांक्षा पूरा गर्न भारत नेपाली राजनीति तथा जनसमुदायमा, नेपाली जनताको भाषा, संस्कृति र पहिचानमा समेत प्रवेश गरिरहेको छ । यस्ता क्रियाकलापबाट नेपाल र नेपाली जनताको मुक्तिका लागि प्रयास हुुनुपर्नेमा सरकारमा भारतीय हस्तक्षेपबाट भारत समर्थकलाई कुर्सीमा स्थापित गरिएको छ । यस्तो पृष्ठभूमिमा प्रधानमन्त्रीको भारत-भ्रमण नेपाली राष्ट्रिय जीवनका लागि हितकारी हुने देखिन्न ।

भारत आफ्ना छिमेकी देशलाई आफ्नो स्वार्थअनुसार चलाउन आफ्ना अनुयायीलाई सत्तामा स्थापित गराउँछ । नेपालमा त आफ्नो आदेश-निर्देशनबाट परिचालन गर्न खोज्छ । यसरी नै सत्तासीन भएका नेताहरू भारतको स्वार्थका लागि उपयोगी र नेपालको राष्ट्रिय हितका लागि कमजोर देखिएका छन् । माधव नेपालको प्रधानमन्त्रीत्व पनि त्यसबाट अलग छैन ।

पहिले पनि सत्तामा हुँदा भारत-भ्रमणकै क्रममा माधव नेपालले टनकपुर योजनामा सीमित रहेको भारतलाई महाकाली पञ्चेश्वर बहुउद्देश्यीय परियोजना नै कोसेली दिएका थिए । भुटानी शरणार्थी समस्यादेखि नेपाली भूमिमाथि अतिक्रमणको समस्या समाधान गर्न कुनै प्रयास नगरी उनले भारतको प्राथमिकता र हितमा काम गरेका थिए, सत्तामा नहुँदा पनि । उनैले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना संसद्बाट दुई-तिहाई बहुमतले पारित गराई भारतलाई सुम्पने काम गरेकाले अब उनी भारतका हितकारी मान्छे हुन् भन्दा फरक पर्दैन ।

माधव नेपालले रक्षामन्त्री विद्या भण्डारीलाई भारत-भ्रमणमा पठाएर हातहतियारसम्बन्धी तारतम्य मिलाउन लगाएको देखिन्छ । 'पहिले भएका सम्झौताअनुसार सहुलियत दरमा भारतले नेपाललाई दिएका हतियार र गोलाबारुद ल्याउने तथा खरिद गर्ने सम्बन्धमा प्रधानमन्त्रीको भ्रमणमा निर्णय हुनसक्ने' मन्त्री भण्डारीको अभिव्यक्तिबाट यो कुरा पुष्टि हुन्छ । यसबाट उनले भारतबाट हतियार ल्याउन चाहेको एवं उनी बाह्रबुँदे र अन्य शान्ति-सम्झौताका विपक्षमा उभिन थालेको संकेत पाइन्छ ।

यो संकेत नेपाली जनताको संघर्ष र चाहनाविपरीत छ । आफ्नो हक-अधिकार र मुक्तिका लागि बलिदान गर्ने सहिदका त्याग, विद्रोहरूपी माओवादी जनयुद्ध, १९ दिने दोस्रो जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजातिका आन्दोलनका पक्षमा पनि छैन । अब उनीहरू आफ्नो मातृभूमि नेपालका मालिक र व्यवस्थापक हुने क्रममा रहेका बेला सेनालाई नेपाली जनताको सेना बनाउने क्रममा तत्कालीन सरकारले प्रधानसेनापतिलाई दिएको आदेशविरुद्ध अन्तरिम संविधान तथा मौजुदा सैनिक ऐनविपरीत राष्ट्रपतिले लिएको निर्णय र सेनापतिलाई दिएको आदेशमा माधव नेपालको पनि साथ र समर्थन रहेको तथ्य जगजाहेर छ । यसले जनतन्त्र र स्वतन्त्रताको विरोधमा सामन्तशाही, प्रतिगामी प्रवृत्ति बोकेेका डबल नागरिकको षड्यन्त्र जीवितै छ भन्ने मात्रै देखाएन, राष्ट्रपति र सेनाको सर्वाेच्चता रहेको पनि देखायो, जुन भारतीय स्वार्थअनुकूल रहेको छ । यसै क्रममा राष्ट्रपतिको कदम पछ्याएर सत्तासीन भएका माधव नेपालको सरकारले त्यस कदमलाई समर्थन गरेर जनविरोधी षड्यन्त्रलाई थप मद्दत पुर्‍याएको तथ्य स्पष्ट छ ।

तथ्यबाट स्पष्ट हुन्छ, जनताबाट पराजित माधव नेपाल नेपाली जनताको कम मात्रै प्रतिनिधित्व गर्ने मान्छे हुन् । व्यवहारले देखाएको छ, उनी भारतका अनुयायी र भारतद्वारा निर्मित व्यक्ति बढी हुन् । नयाँ नेपालका लागि जनताको संविधान निर्माण गर्न जुट्नुपर्ने बेला उनी भारत-भ्रमणमा गएका छन् । त्यहाँ भारतका लागि वाञ्छित सम्झौता वा निर्णय गरी मालिक रिझाउने काम भयो भने राष्ट्रका लागि दुर्भाग्य हुनेछ ।
नेपाली जनताको दबाब परेन भने उनलेे भारतको चाहनामा असमान सन्धि-सम्झौतामा सही थाप्ने, नेपाली भूमि अतिक्रमणलाई प्रमाणित गर्ने, अन्तर्राष्ट्रिय कानुन र सामान्य मर्यादाविपरीत बनाइएका बाँध र तटबन्धलाई स्वीकार गर्ने, सपुर्दगी सन्धिको निर्णयमा सही ठोक्ने काम गर्न सक्छन् । यस्तो उद्देश्य नहुँदो हो त उनले भारतमै किन जाने, के-के विषयमा कुरा गर्ने त ? भारत जानुको उद्देश्यबारे नेपाली जनताको व्यवस्थापिका-सदनमा जानकारी दिनुपर्नेमा उनले त्यस्तो कष्ट गरेको देखिएन । यसबाट पनि उनी भारतकै हितका लागि भारत जाँदै त छैनन् भन्ने शंका जन्मिन्छ । हुनसक्छ, यस भ्रमणमा उनलेे भारतको चाहनाअनुसार कोसेली चढाउने, नेपालको संविधान निर्माणका लागि भारतीय निर्देशन र मस्यौदा नै लिएर र्फकने हुन् कि ?

जनसमर्थनको अभावका कारण उनी भारतीय नेताभन्दा कमजोर छन्, जुन कमजोरीमाथि टेकेर अनेक निर्णय हुनसक्छ । र, भारतीय अनुग्रहबाट थिचिएका प्रधानमन्त्री नेपालबाट पनि नेपाल र नेपालीको हितविपरीतका त्यस्ता निर्णयमा सही गर्ने सम्भावना हुनसक्छ । अतः आफ्नो स्वतन्त्रता, स्वाभिमान, अस्तित्व र आत्मनिर्णय बचाएर नेपालको सार्वभौम अधिकार संरक्षण गर्न तथा भारतीय हस्तक्षेप र चालबाजीको अन्त्य गर्न चाहने, भारतसँगको मित्रतालाई महत्त्व दिँदै आफूले मित्रताको व्यवहार गर्ने र भारतबाट पनि आफूप्रति मित्रवत् व्यवहार नै खोज्ने सबै नेपाली जनता उनको भ्रमणप्रति सतर्क हुनुपर्छ ।
देश र जनता कष्टपूर्ण जीवन बाँचिरहेका बेला भारतको सयर गर्नु अनावश्यक कर्म हो । यतिखेर त नेपाली सीमाभूमिको रक्षा, नेपाली जनताको न्याय, जनतन्त्रको संरक्षण र संवर्द्धनसँगै जनताका कष्टलाई थोरबहुत भए पनि कम गर्ने काम गर्नु आवश्यक छ । के उनी यसो गर्न सक्छन् ?
(सेन माओवादी सभासद् हुन्)
Source: Naya Patrika 18 August 2009 (2066 Bhadra 2)