स्परमा कटान तीव्र
कान्तिपुर संवाददाता
इनरुवा, तीन दिनयताको अविरल वषर्ापछि कोसी नदीमा पानीको बहाव बढेसँगै कोसी नदीका स्परहरूमा सोमबारदेखि तीव्र कटान सुरु भएको छ । कोसीको पूर्वी तटबन्ध गत वर्ष भदौ २ गते भत्किएको एक वर्ष पूरा भएकै दिन बराहक्षेत्र २, पुल्थेगौडास्थित स्पर नम्बर १२ मा कटान सुरु भएको हो ।
१२ नम्बर स्परमा एकातिरबाट कोसीको पानी र अर्कोतर्फबाट पटनालीको पानीले कटान गरिरहेको छ । एक सय ५० फिट लम्बाइको उक्त स्परमा तीव्र कटान सुरु भएकाले स्पर कटान हुँदै साँझ ३० फिट मात्र स्पर बाँकी छ । यसैगरी २० फिट चौडाइ भएको १२ नम्बर स्परको कटान भएर १२ फिट मात्र बाँकी छ ।
तीव्र कटान भइरहेकाले १२ नम्बर स्पर पूरै कटान गरे १३ नम्बर स्पर कटान गर्न कुनै समय नलाग्ने र त्यसपछि पटनाली खोला हुँदै त्यहाँ रहेको खोल्सामा पानी खस्ने स्थिति देखिएको छ । १२ नम्बर स्पर कटान गरी पानी पटनाली खोलामा खसेर सुनसरी जिल्लाको बराह क्षेत्र, राजाबास, महेन्द्रनगर, सदरमुकाम इनरुवासहित जिल्लाका दर्जनौं गाविस डुबानमा पर्ने जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरले जानकारी दिएको छ ।
यसैगरी विराटनगरसहित भारतीय भूमि पनि डुबानमा पर्ने सम्भावना छ । कोसी नदीमा सोमबार साँझ एक लाख ९७ हजार क्युसेक पानीको प्रतिसेकेन्ड बहाब रहेको २१ वटा ढोका खोलिएको ब्यारेजस्थित मापन केन्द्रले जनाएको छ । स्पर कटान भइरहेको स्थानमा नियन्त्रणका लागि कुनै पनि उपाय नगरिएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । कटान भएको ठाउँ नेपाल सरकारले मर्मत गर्नुपर्ने क्षेत्रभित्र पर्दछ । यसअघि त्यहाँ काम भइरहेको भए पनि सरकारले रकम भुक्तानी नदिएपछि ठेकेदारले काम रोकेको थियो । कटानबारे आफूलाई पनि जानकारी आएको प्रमुख जिल्ला अधिकारी हरिकृष्ण उपाध्यायले बताए । उनले नियन्त्रणका लागि जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका प्राविधिक खटाइसकिएको जानकारी दिए ।
Source: Kantipur Daily, 19 August 2009
